क्यान्सरको प्रकोप तीब्र रूपमा बढ्दो क्रममा छ । यो नसर्ने रोगहरूमध्ये विश्वका प्रमुख पाँच मृत्युको कारणमा पर्दछ । क्यान्सर कपाल र नङ बाहेक मानव शरीरको कुनै पनि अंगमा लाग्नसक्छ । क्यान्सरको स्टेजको आधारमा जोखिम, जटिलता र उपचारको प्रकृति फरक–फरक हुन्छ ।
क्यान्सर रोग अंगअनुसार फरक–फरक हुने भएकाले राज्यले गरेको सहयोग समग्र रूपमा हेर्दा अझै सन्तोषजनक भन्न सकिने अवस्था छैन । क्यान्सरका कारण शारीरिक र आर्थिक रूपमा ठूलो नोक्सानी बेहोर्नुपर्ने भएकाले सरकारले गम्भीरतापूर्वक ध्यान दिई दीर्घकालीन रणनीति ल्याउन आवश्यक देखिन्छ ।
सात वर्षे राष्ट्रिय योजना तयार भयो तर कार्यान्वयन छैन
तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा राष्ट्रिय क्यान्सर कन्ट्रोल रणनीति स्वास्थ्य मन्त्रालयमा पेश गरेका थियौँ । यसमा क्यान्सर रोकथाम, स्क्रिनिङ प्रणाली, उपचार सेवा विस्तार र दीर्घकालीन व्यवस्थापन सम्बन्धी स्पष्ट खाका प्रस्तुत गरिएको छ। यो रणनीति सन् २०२४ देखि २०३० सम्मका लागि सात वर्षे योजनाका रूपमा तयार गरिएको हो ।
म स्वयं पनि उक्त रणनीति निर्माण गर्ने वर्किङ कमिटीमा थिएँ । दुर्भाग्यवश, रणनीति मन्त्रालयमा पेश भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । हाम्रो देशमा राम्रो योजना र दस्तावेज बन्ने तर त्यसको सदुपयोग नहुने समस्या बारम्बार देखिन्छ । क्यान्सरजस्तो गम्भीर रोगमा यस्तो लापरवाही स्वीकार्य हुन सक्दैन । सरकारले सम्बन्धित सरोकारवालाहरुलाई समेटर यो रणनीति कार्यान्वयन गर्न आवश्यक छ ।
क्यान्सर नियन्त्रणः बहुआयामिक रणनीति आवश्यक
क्यान्सर रोगको प्रकृति र प्रकार फरक–फरक भएकाले अस्पतालको सेवा निर्धारण, सेवा विस्तार र क्यान्सरको वर्गीकरणअनुसार उपचार प्रणाली विकास गर्न आवश्यक छ । स्क्रिनिङ, खोप, प्रारम्भिक पहिचान र उपचारलाई राष्ट्रिय प्राथमिकतामा राखे मात्र क्यान्सरको बढ्दो भार कम गर्न सकिन्छ ।
अब विकल्प होइन, अनिवार्य आवश्यकता
सरकारले गम्भीर भएर ह्युमन रिसोर्स म्यापिङ गर्नैपर्छ । देशभर कति क्यान्सर सेन्टर छन् ? कहाँ–कहाँ कुन प्रकारको जनशक्ति कति छन् ? कुन क्षेत्रमा अभाव छ ?—यी सबै कुराको स्पष्ट नक्साङ्कन आवश्यक छ । हाल नेपालभर जम्मा १२ वटा रेडिएसन मेसिन मात्र सञ्चालनमा छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १० लाख जनसंख्याका लागि कम्तीमा १ वटा रेडिएसन मेसिन आवश्यक पर्छ । यसको तुलनामा नेपालमा रेडिएसन मेसिनको संख्या अत्यन्तै न्यून छ । रेडिएसन उपचारका लागि बिरामीले कम्तीमा ३ देखि ४ महिनासम्म कुर्नुपर्छ । यस्तो ढिलाइ चिन्ताजनक हो ।
क्यान्सर नियन्त्रणका लागि डाटाको आवश्यकता
सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एचएचआरसी) ले जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री शुरु गरेको थियो । विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर देशभरबाट डाटा संकलन भइरहेको थियो । त्यो अत्यन्त सकारात्मक र सिकाइपूर्ण थियोे । जहाँ गएर प्रस्तुत गर्दा पनि हामीले संकलन गरेको डाटा भरपर्दो र वैज्ञानिक आधारमा तयार भएको मानिन्थ्यो ।
तर अहिले त्यो रोकिएको छ । कुनै पनि रोग नियन्त्रण तथा उपचारको योजना बनाउन डाटालाई आधार मानेर काम गर्नु अनिवार्य हुन्छ । भरपर्दो तथ्याङ्क बिना नीति, रणनीति र स्रोतको सही प्रयोग सम्भव हुँदैन । त्यसैले क्यान्सरजस्तो गम्भीर रोगका लागि डाटा अझै धेरै आवश्यक हुन्छ । त्यसैले जनसंख्यामा आधारित यो क्यान्सर रजिष्ट्री अभियानलाई निरन्तरता दिन आवश्यक छ ।
भरपर्दो डाटा बिना नीति असम्भव
विगतमा नेपालमा गरिएको क्यान्सर रजिष्ट्रीले देशको कुल जनसंख्याको करिब २१ प्रतिशत मात्र समेट्न सकेको थियो । त्यसैले नेपालभरको सम्पूर्ण जनसंख्यालाई समेट्ने यो क्यान्सर रजिष्ट्री प्रणाली विकास गर्नुपर्छ । यसमा सम्बन्धित सबै सरोकारवालाको ध्यान जान अत्यन्त जरुरी छ । भरपर्दो र व्यवस्थित डाटा बिना क्यान्सर नियन्त्रणका लागि प्रभावकारी नीति बनाउन सकिँदैन ।
तथ्याङ्कले बनाउँछ नीति र रणनीति
जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै युनिट स्थापना गर्नुपर्छ । विज्ञहरूको सल्लाह लिएर फेरि डाटा संकलन सुरु गरी आफ्नै देशको तथ्याङ्कलाई आधार मानेर नीति निर्माण गर्न सकिन्छ ।
रजिष्ट्रीको डाटाले काठमाडौं उपत्यकामा स्तन क्यान्सरका बिरामी बढी देखाएको थियो भने मधेश प्रदेशमा पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या उच्च रहेको देखाएको थियो । यस्ता डाटाले क्यान्सर रोकथाम र उपचारको दिशा तय गर्न ठूलो मद्दत गर्छ ।
राज्यको वर्तमान सहयोगः पर्याप्त छैन
हाल सरकारले प्रति क्यान्सरका बिरामीलाई एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । केही प्रदेश सरकारले आफ्नो क्षमताअनुसार थप सहयोग गरेका छन् । बागमती प्रदेशले ५० हजार रुपैयाँ र लुम्बिनी प्रदेशले २ लाख रुपैयाँ थप सहयोग उपलब्ध गराएको छ । तर यो रकम क्यान्सर उपचारका लागि अत्यन्त न्यून छ ।
कम्तीमा पनि ५ लाख रुपैयाँसम्मको सहायता आवश्यक छ । यदि उपचारपछि बिरामी निको हुने सम्भावना भएमा राज्यले पूर्ण रूपमा निःशुल्क उपचारको जिम्मेवारी लिनुपर्छ । त्यससँगै स्वास्थ्य बीमालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक छ ।
सहज पहुँचः उपचारमा सफलता
विपन्ननागरिकलाई दिइने १ लाख रुपैयाँको सहायता नर्सिङ महाशाखामार्फत उपलब्ध गराइने र क्यान्सर पुष्टि भएपछि वडा कार्यालयमार्फत सहायता प्रक्रिया अघि बढाइन्थ्यो । तर पछि यो सहायता स्वास्थ्य बीमामा गाभियो । उपचारका लागि बीमा अनिवार्य गरेकाले बीमा नगरेका क्यान्सर बिरामीले सहयोग पाउन सक्दैनन् । सहज रूपमा पाइने सहयोग अहिले नपाउँदा उपचारमै बाधा सृजना भएको छ । त्यसैले बीमा नगरे पनि १ लाख रुपैयाँ पाउने व्यवस्था पुनः लागु गर्नुपर्छ ।
(प्रा. डा. चापागाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा प्राध्यापन गर्नुहुन्छ । उहाँ सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट्सको अध्यक्ष एवं नेप्लिज सोसाइटी अफ रेडियोथेरापी एण्ड अन्कोलोजीको महासचिव पनि हुनुहुन्छ ।)
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
बाल क्यान्सरका पाँच ठूला भ्रम र वैज्ञानिक यथार्थ
बुधबार, वैशाख ९, २०८३
भक्तपुर क्यान्सर हस्पिटलमा उन्नत क्यान्सर परीक्षण
बुधबार, वैशाख ९, २०८३

