नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि काठमाडौंका प्रमुख सरकारी अस्पतालहरूले सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधारका कार्यक्रमलाई तीव्रता दिएका छन्।
मन्त्रालयको प्रत्यक्ष निगरानी र निर्देशनसँगै अस्पतालहरूमा सुलभ फार्मेसी सञ्चालन, डिजिटल प्रविधिको विस्तार, भीड व्यवस्थापन तथा स्वास्थ्यकर्मीको सेवा व्यवहार सुधारका पहल प्रभावकारी रूपमा अघि बढेका छन्।
मन्त्री मेहताको निर्देशनअनुसार राष्ट्रिय ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ। त्यस्तै, वीर अस्पतालले पनि यसै साताभित्र सस्तो तथा सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने सुलभ फार्मेसी सञ्चालन गर्ने जनाएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भने उक्त सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
बिरामीको चाप व्यवस्थापन र सेवाग्राहीको सहजताका लागि अस्पतालहरूले डिजिटल प्रविधिको प्रयोगसमेत विस्तार गरेका छन्। वीर अस्पताल र टेकु अस्पतालमा बिरामीहरूले क्युआर प्रणालीमार्फत आफ्ना स्वास्थ्य परीक्षणका रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। टेकु अस्पतालमा उपलब्ध औषधिबारे जानकारीसमेत क्युआर प्रणालीबाटै प्राप्त गर्न सकिने सुविधा थपिएको छ।
सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन टेकु अस्पतालले सेवा काउन्टरको संख्या तीनबाट बढाएर पाँच पुर्याएको छ। यसले बिरामीको भीड व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, वीर अस्पतालले ‘केडी जोशी बर्न युनिट’लाई थप स्तरीय बनाउन आवश्यक सुधारका काम अघि बढाएको छ। बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइनुका साथै सबै अस्पतालमा कर्मचारीको सेवा र व्यवहार सुधारका लागि ‘सफ्ट स्किल’ तालिम सञ्चालन गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को स्थलगत अनुगमन गरिएको थियो।
अनुगमन टोलीले अस्पतालको सरसफाइ, सरकारले तोकेको १० प्रतिशत निःशुल्क सेवाको कार्यान्वयन अवस्था तथा समग्र सेवा व्यवस्थापनको मूल्याङ्कन गर्दै आवश्यक सुधारका काम तत्काल अघि बढाउन सम्बन्धित अस्पताल प्रशासनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
मंगलबार, असार १६, २०८३
गैरचिकित्सकबाट उपचार र औषधि सिफारिस नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, असार १६, २०८३
त्रिवि शिक्षण अस्पतालले गर्यो २६औँ कलेजो प्रत्यारोपण
मंगलबार, असार १६, २०८३
बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट
मंगलबार, असार १६, २०८३
