नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित व्यक्तिहरूको अनुभव, आवश्यकता र आवाजलाई नीति निर्माण तथा सेवा प्रवाहमा अर्थपूर्ण रूपमा समेट्न आह्वान गरेको छ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै प्रभावित व्यक्तिहरूको अनुभवलाई सम्मान गर्न र गुणस्तरीय सेवा सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गरेको हो।
हरेक वर्ष अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष ‘जीवन्त अनुभवको सुनुवाइः वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नाराका साथ मनाइँदैछ। विश्व मानसिक स्वास्थ्य महासंघले सन् १९९२ देखि यो दिवस मनाउँदै आएको छ।
मन्त्रालयका अनुसार मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिले स्वयं भोगेका अनुभवबाट प्राप्त ज्ञान र बुझाइलाई जीवन्त अनुभव भनिन्छ। यस्तो अनुभव मानसिक स्वास्थ्य सेवा सुधार, नीति निर्माण र कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण हुने भए पनि उनीहरूलाई प्रायः आफ्ना अनुभव सुनाउन मात्र सीमित राख्ने गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार जीवन्त अनुभव भएका व्यक्तिलाई नीति निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकनमा समान साझेदारका रूपमा सहभागी गराउँदा मानसिक स्वास्थ्य प्रणालीलाई थप व्यक्तिकेन्द्रित, अधिकारमा आधारित, जवाफदेही र आवश्यकताअनुरूप बनाउन सकिन्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर प्रत्येक सात जनामध्ये करिब एक जना कुनै न कुनै मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित थिए। नेपालमा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार करिब १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्।
नेपालको संविधानको धारा ३५ र जनस्वास्थ्य सेवा ऐन, २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा स्थापित गरेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ ले प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यको एकीकरण, लाञ्छना तथा भेदभाव न्यूनीकरण, मानव अधिकारको संरक्षण र प्रमाणमा आधारित अभ्यासलाई प्राथमिकता दिएको छ।
मन्त्रालयले मानसिक स्वास्थ्य सेवा विस्तारका लागि सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम, बालबालिका तथा किशोरकिशोरी र मातृ मानसिक स्वास्थ्य सेवा, निःशुल्क औषधि उपलब्धता तथा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। मानसिक स्वास्थ्य प्रवर्द्धन, रोकथाम, उपचार, पुनर्स्थापना, मानव अधिकारको संरक्षण र सेवामा पहुँच सुनिश्चित गर्न मानसिक स्वास्थ्यसम्बन्धी विधेयक निर्माणको प्रक्रिया पनि अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, यस वर्ष रसुवा तथा नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। विपद्बाट प्रभावित समुदायको मानसिक स्वास्थ्य आवश्यकता सम्बोधन गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको छ।
मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी लाञ्छना, भेदभाव र अन्धविश्वास हटाउन, परिवार, विद्यालय, कार्यस्थल तथा समुदायमा सहयोगी वातावरण निर्माण गर्न र नियमित मानसिक स्वास्थ्य जाँच गराउन सबैमा आग्रह गरेको छ। साथै, बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहको मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुपर्ने जनाएको छ।
आत्महत्याको सोच आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले जीवन्त अनुभव भएका व्यक्तिका आवाज सुन्ने, उनीहरूको अनुभवलाई नीति तथा सेवामा समावेश गर्ने र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेको छ।
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३
