नेपाल हेल्थ न्युज, काठमाडौं । प्रत्येक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाईँदै आइएको छ । विश्व स्वास्थ्य संगठन र विश्व मानसिक स्वास्थ्य महासंघको सहकार्यमा सन् १९९२ देखि नेपालसहित विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाउन सुरु गरिएको हो । मानिसले शारिरीक स्वास्थ्यलाई ध्यान दिएपनि मानसिक स्वास्थ्यलाई भने ध्यान दिएको पाईँदैन ।
विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट साइक्याट्रिस्ट डा निकेश राजभण्डारीले शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।
पहिला शारीरिक स्वास्थ्यलाई मात्र प्राथमिकता दिइने र मानसिक स्वास्थ्यलाई ओझेलमा पारिने गरेकोमा विश्व स्वास्थ्य सङ्गठन र विश्व मानसिक स्वास्थ्य महासंघको सहकार्यमा यो दिवस मनाउन थालिएको डा राजभण्डारीले बताउनुभयो ।
विगत डेढ दशकको तुलनामा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना उल्लेख्य रूपमा बढेको डा राजभण्डारीको भनाइ छ । पहिले मानसिक रोग विभागमा विरामी जान हिचकिचाउने गरेपनि पछिल्लो समयमा भने विरामीहरु मनोचिकित्सक खोज्दै अस्पताल र स्वास्थ्य संस्था आउने गरेका छन् । उहाँले पछिल्लो समय मिडियाले खेलेको भूमिकाले पनि मानिसलाई उपचार कहाँ खोज्ने भन्ने विषयमा सचेत बनाएको बताउनुभयो ।
अस्पतालमा बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण रोग नै बढेको भन्दा पनि मानिसमा बढेको चेतना र पहुँच भएको डा राजभण्डारीले स्पष्ट पार्नुभयो । “विश्व स्वास्थ्य सङ्गठनका अनुसार न्यून तथा मध्यम आय भएका देशमा ७५ प्रतिशत मानसिक बिरामीहरू उपचारसम्म पुग्न सक्दैनथे, अहिले त्यो सङ्ख्या घटेर मानिसहरू अस्पताल आउन थालेकाले बिरामी बढेको देखिएको हो,”– डा राजभडारीले भन्नुभयो ।
महाभूकम्प, कोरोना महामारी तथा हालैका प्राकृतिक विपद्का कारण पनि केही हदसम्म मानसिक स्वास्थ्य समस्या बढेको उहाँको भनाई छ । मानसिक रोगका जैविक, वातावरणीय र मनोवैज्ञानिक गरी तीन मुख्य कारण रहेको डा राजभण्डारीले बताउनुभयो ।
अटिजम, एडीएचडी, र स्किजोफ्रेनिया जस्ता रोगमा जैविक तथा वंशानुगत कारण प्रमुख हुन्छ भने गरिबी, बेरोजगारी, वातावरणीय तनाव र सामाजिक सम्बन्धहरूले पनि मानसिक स्वास्थ्यमा असर पार्ने गरेको उहाँको भनाई छ ।
नेपाली समाजमा विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलामा शङ्का गर्ने प्रवृत्ति, मदिरा सेवन तथा घरेलु हिंसाका कारण डिप्रेसन र एन्जाइटीको समस्या बढी देखिएको डा राजभण्डारीले बताउनुभयो । त्यसैगरी, युवापुस्तामा मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनले मानसिक समस्या बढाउँदै लगेको डा राजभण्डारीको भनाई छ ।
लामो समयसम्म तनाव भइरहेमा मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरू लाग्ने जोखिम हुने गरेको उहाँको भनाई छ । मानसिक स्वास्थ्य स्वस्थ राख्नका लागि व्यक्तिगत स्तरमा दैनिक जीवनशैलीलाई नियमित बनाउने, पोषक खानपान गर्ने, पर्याप्त सुत्ने, समयमा काम गर्ने र दुव्र्यसनबाट टाढा रहने सल्लाह उहाँले दिनुभयो । यस्तै, सरकारले नीतिगत तहमा मानसिक स्वास्थ्य ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँको भनाई छ ।
(डा निकेश राजभण्डारी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौँका मानसिक रोग विशेषज्ञ हुनुहुन्छ ।)
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३
