नेभिगेशन

मन्त्री मेहताको स्थलगत अनुगमन: कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल सुरु गर्नुभएको छ।

शनिबार कोशी अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै विशिष्टीकृत आँखा अस्पतालका रूपमा विकास गर्ने योजनाबारे अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो। अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्यको पनि सहभागी थियो।

अनुगमनका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभयो।

निरीक्षणपछि उहाँले अस्पताल प्रशासनलाई सरसफाइलाई थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयभित्र सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो।

त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउन एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न उहाँँले पुनः आग्रह गर्नुभयो।

मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताउँदै सेवा सुधार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट