नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।
मन्त्री मेहताका अनुसार ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको छ। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा सञ्चालन र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उहाँले बताउनुभयो।
लहानस्थित प्रादेशिक अस्पतालमा सिटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैङ्कलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध रहेकाले तत्काल त्यहाँ ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले स्पष्ट पार्नुभयो।
उहाँले लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरमा निर्माण हुने ट्रमा सेन्टरको विकल्प नभएको बताउनुभयो। “लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,” उहाँले भन्नुभयो, “नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।”
मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अघि बढाउन तथा उपलब्ध पूर्वाधारमार्फत तत्काल नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो।
सरकारले तत्कालीन आवश्यकता पूरा गर्न लहानमा ट्रमा सेवा सञ्चालन गर्ने र दीर्घकालीन रूपमा ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणलाई अघि बढाउने नीति लिएको उहाँको भनाइ छ।
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
