नेभिगेशन

कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी

नेपाल हेल्थ न्युज, न्युयोर्क । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिरहेको इबोलाको नयाँ प्रकोप इतिहासकै सबैभन्दा घातक बन्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले प्रकोप नियन्त्रणको वर्तमान गति कायम रहे सन् २०१४–२०१६ को पश्चिम अफ्रिका केन्द्रित इबोला महामारीभन्दा पनि अवस्था भयावह बन्न सक्ने बताएका छन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।

स्वास्थ्य अधिकारीहरूका अनुसार यस वर्षको मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको पछिल्लो प्रकोपबाट हालसम्म ४ हजार ३०० भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यद्यपि, प्रकोपको वास्तविक सुरुआत भने औपचारिक घोषणा हुनुभन्दा करिब तीन महिना अघिदेखि नै भएको बताइएको छ।

डब्ल्यूएचओले आगामी तीन महिनाभित्र भाइरसको फैलावटको दरलाई उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखेको छ। तर सङ्क्रमणको दर घटाउनु महामारी पूर्ण रूपमा अन्त्य हुनु भने नभएको भन्दै संगठनले निरन्तर निगरानी र उपचार आवश्यक पर्ने जनाएको छ।

प्रकोपको केन्द्रविन्दु नजिकै रहेको बूनिया सहरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहामेद जनाबीले स्वास्थ्यकर्मीहरू भाइरसको फैलावटभन्दा पछाडि परेको बताएका छन्। अनुसन्धानका क्रममा भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको र सुरुमा बिरामीहरूलाई मलेरिया वा टाइफाइडका रूपमा गलत निदान गरिएको पाइएको उनको भनाइ छ।

यसपटकको प्रकोप इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिका कारण भएको हो। यस प्रजातिका कारण यसअघि सन् २००७ र २०१२ मा मात्र प्रकोप देखिएको थियो। बुन्डिबुग्यो प्रजातिविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा आधिकारिक औषधि उपलब्ध छैन।

कङ्गोको पूर्वी क्षेत्रमा जारी अशान्तिका कारण स्वास्थ्यकर्मीहरूलाई प्रभावित समुदायसम्म पुग्नसमेत कठिन भइरहेको छ। डब्ल्यूएचओका अनुसार हाल स्वास्थ्यकर्मीहरू करिब ३० प्रतिशत सङ्क्रमितसम्म मात्र पुग्न सकिरहेका छन्।

इबोला दुर्लभ तर अत्यन्त घातक भाइरसजन्य रोग हो। सङ्क्रमण भएको २ देखि २१ दिनभित्र यसको लक्षण देखिन सक्छ। सुरुमा ज्वरो, टाउको दुख्ने र अत्यधिक थकानजस्ता लक्षण देखिने भए पनि रोग बढ्दै जाँदा बान्ता, पखाला तथा शरीरका विभिन्न अङ्गले काम गर्न छाड्ने अवस्था आउन सक्छ। सङ्क्रमित व्यक्तिको रगत, बान्ता तथा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ।

यसैबीच, बेलायतको औषधि नियामक निकाय (एमएचआरए) ले बुन्डिबुग्यो इबोलाविरुद्ध नयाँ खोपको मानव परीक्षणका लागि अनुमति दिएको छ। अक्सफोर्ड विश्वविद्यालयको टोलीले अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड–१९ खोपमा प्रयोग गरिएको प्रविधिसँग मिल्दोजुल्दो प्रविधि प्रयोग गरी उक्त खोप विकास गरिरहेको छ।

अन्य तीन समूहले समेत बुन्डिबुग्योविरुद्ध फरक खोप विकास गरिरहेका छन्। ती खोपको क्लिनिकल परीक्षण भने अझै सुरु हुन बाँकी छ। डब्ल्यूएचओले कङ्गोमै उपलब्ध दुई पुराना एन्टिभाइरल औषधिले बिरामीको ज्यान जोगाउन प्रभावकारी भूमिका खेल्न सक्छन् कि सक्दैनन् भन्नेबारे छुट्टै क्लिनिकल परीक्षणसमेत गरिरहेको जनाएको छ।

स्वास्थ्य विज्ञहरूले प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा शीघ्र स्वास्थ्य सेवा विस्तार, सङ्क्रमितको पहिचान तथा उपचार र समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ