नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गी अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘डिस्टिङ्गुइस्ड करियर अवार्ड’बाट सम्मानित हुनुभएको छ।
इटालीको फ्लोरेन्समा आयोजित इन्टरनेसनल सोसाइटी अफ युरोलोजी (एसआईयू) को ४६औँ महासभाका अवसरमा नोभेम्बर ११ मा डा. खड्गीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
युरोलोजी क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदान, विशिष्ट उपलब्धि तथा चिकित्सा सेवामा देखाएको उत्कृष्टताका आधारमा प्रदान गरिने यो सम्मान एसआईयूको सर्वोच्च पुरस्कारमध्ये एक मानिन्छ।
सन् १९०७ मा स्थापना भएको एसआईयूमा विश्वका १४० भन्दा बढी देशका १७ हजारभन्दा बढी युरोलोजिस्ट आबद्ध छन्। हालसम्म एसियाका १७ जना युरोलोजिस्टले मात्रै यो प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्।
अवार्ड प्राप्त गरेसँगै डा. खड्गीको तस्बिर क्यानडाको मोन्ट्रियलस्थित एसआईयूको मुख्यालयमा रहेको अवार्ड विजेताहरूको ग्यालरीमा समेत राखिनेछ।
डा. खड्गीले सन् २००५ मा नेपालमा ‘मिनी–पीसीएनएल’ प्रविधि भित्र्याउनुभएको थियो। यस प्रविधिमार्फत उहाँले हालसम्म हजारौँ जटिल शल्यक्रिया सम्पन्न गरिसक्नुभएको छ। उहाँले भारत, जर्मनी, चीन, मोरक्को, कुवेत, कतार, पाकिस्तान, टर्की, मलेसिया र फ्रान्सलगायतका देशमा उक्त प्रविधिको प्रत्यक्ष शल्यक्रिया प्रदर्शनसमेत गरिसक्नुभएको छ।
त्यसैगरी, उहाँ ‘वर्ल्ड कंग्रेस अफ इन्डोयुरोलोजी’मा अन्तर्राष्ट्रिय फ्याकल्टी तथा अतिथि वक्ताका रूपमा आमन्त्रित हुने नेपालकै पहिलो युरोलोजिस्ट हुनुहुन्छ। उहाँले अमेरिकन युरोलोजिकल एसोसिएसन (एयूए), एसआईयू लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाका सम्मेलन तथा कार्यक्रममा विज्ञ वक्ताका रूपमा सहभागिता जनाउँदै आउनुभएको छ। डा. खड्गीले प्राप्त गरेको यस अन्तर्राष्ट्रिय सम्मानलाई नेपाली चिकित्सा क्षेत्र, विशेषगरी युरोलोजी विधाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
नेपाली चिकित्सक डा. प्रवेश दाहाललाई अमेरिकामा अन्तर्राष्ट्रिय ट्राभल अवार्ड
आइतबार, कात्तिक २९, २०८३
विश्व मधुमेह दिवसमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, कात्तिक २९, २०८३
मेट्रो ल्याब्सको एक महिनासम्म मेगा सामुदायिक मधुमेह निःशुल्क परीक्षण अभियान
आइतबार, कात्तिक २९, २०८३

