नेभिगेशन

अहेवले बिरामीको स्वास्थ्य परीक्षण र औषधि सिफारिस गर्न पाउँछन् कि पाउँदैनन् ? परिषद्ले भन्यो– कार्यक्षेत्रभित्र रहेर सेवा दिन सक्ने

परिषद्ले चितवनको माडीमा अहेव (सीएमए) स्वास्थ्यकर्मीको उपचार सेवा र औषधि सिफारिससम्बन्धी विवादबारे छानबिन गर्ने

नेपाल हेल्थ न्युज, काठमाडौं । अहेव (सीएमए) स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण तथा जाँच गर्न र एन्टिबायोटिकलगायतका औषधि सिफारिस गर्न पाउने वा नपाउने भन्ने विषयमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो धारणा सार्वजनिक गरेको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा परिषद्मा प्राप्त गुनासा र उजुरीप्रति ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, पेशागत दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर स्वास्थ्य सेवा प्रदान गर्न सक्ने स्पष्ट पारेको हो।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नियमावली, २०५६ तथा पेशागत आचारसंहिताअनुसार दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्रभित्र रही बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने उल्लेख गरेको छ।

विशेषगरी चितवन जिल्लाको माडी नगरपालिका–३ मा स्वास्थ्य सेवा प्रदान गर्दै आएका चिकित्सा तृतीय समूह (अहेव) अन्तर्गत परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीका सम्बन्धमा सार्वजनिक भएका समाचार, गुनासा तथा उजुरीप्रति परिषद्को ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

उक्त घटनाबारे परिषद् जानकार रहेको उल्लेख गर्दै प्राप्त निवेदन, उजुरी तथा उपलब्ध तथ्य र प्रमाणका आधारमा थप अनुसन्धान, जाँचबुझ तथा अध्ययन गरी प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने परिषद्ले जनाएको छ।

परिषद्ले कुनै स्वास्थ्यकर्मीबाट पेशागत आचारसंहिता वा निर्धारित कार्यक्षेत्रको उल्लङ्घन भएको पाइएमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ र नियमावली, २०५६ बमोजिम निष्पक्ष छानबिन तथा आवश्यक कारबाही हुने पनि स्पष्ट पारेको छ।

यस्तै, स्वास्थ्यकर्मीको पेशागत कार्यक्षेत्र, अधिकार र जिम्मेवारीसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि परिषदबाट आधिकारिक जानकारी लिन र तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।

परिषद्ले सम्पूर्ण स्वास्थ्यकर्मीलाई आफ्नो पेशागत मर्यादा कायम राख्दै निर्धारित आचारसंहिता (कोड अफ एथिक्स) र कार्यक्षेत्रभित्र रहेर सुरक्षित, गुणस्तरीय तथा जिम्मेवार स्वास्थ्य सेवा प्रदान गर्नसमेत अनुरोध गरेको छ।

रजिष्ट्रार रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा परिषद् स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यकर्मीको पेशागत मर्यादा र आम नागरिकको सुरक्षित स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख छ। तर, अहेवले एन्टिबायोटिकलगायतका औषधि कुन अवस्थामा सिफारिस गर्न पाउने वा नपाउने भन्ने विषयमा भने परिषद्को विज्ञप्तिले औषधिको प्रकारअनुसार स्पष्ट सीमा तोकेको छैन। विज्ञप्तिले समग्रमा स्वास्थ्यकर्मीलाई आफ्नो शैक्षिक योग्यता, दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर सेवा दिनुपर्ने व्यवस्था दोहोर्‍याएको छ। swasthya-bebasai-parisad-1794742347.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट