नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली चिकित्सक डा. प्रवेश दाहालले अमेरिकामा आयोजित विश्वस्तरीय मोलिक्युलर प्याथोलोजी सम्मेलनमा प्रतिष्ठित ‘इन्टरनेसनल ट्रेनी ट्राभल अवार्ड’ प्राप्त गर्नुभएको छ।
एसोसिएसन फर मोलिक्युलर प्याथोलोजी (एएमपी) द्वारा आयोजित वार्षिक सम्मेलनका क्रममा डा. दाहाललाई उक्त अवार्ड प्रदान गरिएको हो। नोभेम्बर १० देखि १४ सम्म अमेरिकाको सियाटलमा आयोजित सम्मेलनमा विश्वका विभिन्न देशका चिकित्सक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा मोलिक्युलर डायग्नोस्टिक्स क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
मोलिक्युलर प्याथोलोजी आधुनिक चिकित्सा विज्ञानको महत्वपूर्ण विधा हो। यसले रोगको आणविक तथा आनुवंशिक आधार पहिचान गरी विशेषगरी क्यान्सरको सटीक निदान र प्रभावकारी उपचार पद्धति निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ। यस क्षेत्रमा विश्वव्यापी रूपमा नयाँ अनुसन्धान तथा प्रविधिको विकास भइरहेका बेला नेपाली चिकित्सकले अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नु नेपालको चिकित्सा क्षेत्रका लागि गौरवको विषय बनेको छ।
डा. दाहाल हाल काठमाडौंस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा कन्सल्टेन्ट प्याथोलोजिस्टका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले प्याथोलोजी सेवासँगै प्रयोगशालाको गुणस्तर व्यवस्थापन, आधुनिक निदान प्रणाली तथा मोलिक्युलर प्याथोलोजीको विकासमा समेत विशेष चासो राख्दै आउनुभएको छ।
अवार्ड प्राप्तिपछि डा. दाहालले यसलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको ज्ञान, प्रविधि र अनुभवलाई नेपालको चिकित्सा क्षेत्रमा भित्र्याउने अवसरका रूपमा लिएको बताउनुभएको छ।
उहाँले अन्तर्राष्ट्रिय अनुभव र ज्ञानको उपयोग गर्दै नेपालमा आधुनिक निदान सेवाको विकास तथा चिकित्सा क्षेत्रको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विश्व मधुमेह दिवसमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, कात्तिक २९, २०८३
मेट्रो ल्याब्सको एक महिनासम्म मेगा सामुदायिक मधुमेह निःशुल्क परीक्षण अभियान
आइतबार, कात्तिक २९, २०८३
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य
आइतबार, कात्तिक २९, २०८३

