नेभिगेशन
सुगर जाँच गरौँ, भविष्य जोगाऔँ

मेट्रो ल्याब्सको एक महिनासम्म मेगा सामुदायिक मधुमेह निःशुल्क परीक्षण अभियान

नेपालमा १२ लाखभन्दा बढी मधुमेहबाट प्रभावित, ७० प्रतिशतभन्दा बढीलाई रोगबारे जानकारी नै छैन

नेपाल हेल्थ न्युज, काठमाडौं । मधुमेह अर्थात् सुगर रोग अहिले विश्वकै प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये एक बन्दै गएको छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा बढ्दो मोटोपनसँगै मधुमेहको जोखिम पनि बढिरहेको छ। अझ चिन्ताको विषय के छ भने, धेरै मानिसमा मधुमेहको समस्या भए पनि उनीहरूलाई आफूमा यो रोग रहेको जानकारीसमेत हुँदैन। लक्षण नदेखिँदै शरीरमा असर गरिरहेको हुन सक्ने भएकाले समयमै परीक्षण र पहिचान मधुमेह नियन्त्रणको महत्त्वपूर्ण आधार बनेको छ।

यही सन्देश प्रवाह गर्दै विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसरमा मेट्रोल्याब्स प्रालिले ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित मेगा सामुदायिक मधुमेह परीक्षण अभियान सुरु गरेको छ।

अभियानको औपचारिक शुभारम्भ पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले आफैँ रक्त नमुना दिएर गरेका हुन्। मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडरसमेत रहेका खड्काले आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सर्वसाधारणलाई पनि नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझ्न र अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

मेट्रोल्याब्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको यस अभियानमा आगामी डिसेम्बर ३१, २०२६ सम्म सर्वसाधारणले निःशुल्क ब्लड सुगर तथा एचबीएवानसी परीक्षण गराउन सक्नेछन्।

विश्वभर बढ्दै मधुमेहको चुनौती, नेपालमा पनि जोखिम कम छैन

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९० मा विश्वभर करिब २० करोड मानिस मधुमेहबाट प्रभावित थिए। यो संख्या सन् २०२२ सम्म आइपुग्दा बढेर ८३ करोड पुगेको छ। अर्थात् तीन दशकभन्दा केही बढी अवधिमा मधुमेहबाट प्रभावित मानिसको संख्या चार गुणाभन्दा बढी भएको छ।

डब्लुएचओको नोभेम्बर २०२६ मा अद्यावधिक गरिएको तथ्यपत्रअनुसार सन् २०२२ मा १८ वर्ष वा सोभन्दा माथिका वयस्कमध्ये १४ प्रतिशतमा मधुमेह थियो। सन् १९९० मा यो अनुपात ७ प्रतिशत मात्र थियो। अझ, सन् २०२२ मा ३० वर्ष वा सोभन्दा माथिका मधुमेह भएका वयस्कमध्ये करिब ५९ प्रतिशतले मधुमेहको औषधिसमेत लिइरहेका थिएनन्।

डब्लुएचओका अनुसार सन् २०२३ मा मधुमेह प्रत्यक्ष रूपमा करिब २० लाख मृत्युको कारण बनेको थियो। मधुमेहका कारण मिर्गौलासम्बन्धी रोगबाट थप करिब तीन लाख ९० हजार मृत्यु भएको अनुमान छ। यसले मधुमेह केवल रगतमा चिनीको मात्रा बढ्ने समस्या मात्र नभई शरीरका विभिन्न अंगलाई प्रभावित पार्न सक्ने गम्भीर दीर्घकालीन रोग भएको देखाउँछ।

नेपालको अवस्था पनि उत्तिकै ध्यान दिनुपर्ने खालको छ। अन्तर्राष्ट्रिय मधुमेह महासंघ ९क्ष्म्ँ० को सन् २०२५ मा प्रकाशित ११औँ संस्करणको डायबिटिज एटलासमा समावेश सन् २०२४ का अनुमानअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहका करिब १२ लाख ५९ हजार वयस्क मधुमेहबाट प्रभावित छन्। यस उमेर समूहमा मधुमेहको उमेर(समायोजित प्रचलन दर ७।७ प्रतिशत छ।

उक्त तथ्यांकअनुसार नेपालमा मधुमेह भएका व्यक्तिमध्ये करिब ७०।४ प्रतिशतलाई आफ्नो रोगबारे जानकारी छैन। यसले नेपालमा मधुमेहको समस्या मात्र होइन, यसको पहिचान र परीक्षणमा समेत ठूलो चुनौती रहेको देखाउँछ।

लक्षण नदेखिँदै बढ्न सक्छ मधुमेहको जोखिम

मधुमेहको सुरुवाती अवस्थामा कतिपय व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिन सक्छ। धेरै तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, अस्वाभाविक रूपमा भोक लाग्ने, थकान महसुस हुने, तौल घट्ने तथा दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिन सक्छन्। तर यस्ता लक्षण देखिएपछि मात्र परीक्षण गराउने प्रवृत्तिले रोग पहिचानमा ढिलाइ हुन सक्छ।

अनियन्त्रित मधुमेहले समयक्रममा मुटु तथा रक्तनली, मिर्गौला, आँखा र स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। यसले हृदयाघात, स्ट्रोक, मिर्गौला फेल हुने, दृष्टि गुम्ने तथा खुट्टासम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ।

डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि, स्वस्थ तौल कायम राख्ने र सुर्तीजन्य पदार्थबाट टाढा रहनेजस्ता उपायले टाइप २ मधुमेहको जोखिम घटाउन वा यसको सुरुवात ढिलो गराउन सक्ने उल्लेख गरेको छ। त्यस्तै, नियमित परीक्षणले रोगको समयमै पहिचान गर्न सहयोग पुर्‍याउँछ।

metro-labs-1-1794728505.jpeg
पारस खड्काको सन्देश स् रोग लागेपछि होइन, समयमै सचेत बनौँ

मधुमेहबारे जनचेतना फैलाउने उद्देश्यले सुरु गरिएको अभियानमा सहभागी हुँदै पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले रोग लागेपछि उपचार खोज्नुभन्दा पहिल्यै सचेत हुनु महत्त्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण मधुमेहको जोखिम कम गर्न अपनाउनुपर्ने महत्त्वपूर्ण उपाय हुन्। आफैँले रक्त नमुना दिएर परीक्षण गराउँदै खड्काले सर्वसाधारणलाई पनि अभियानमा सहभागी हुन आग्रह गरेका छन्। उनले आफ्नो सुगर परीक्षण गराएर अरूलाई समेत परीक्षणका लागि प्रेरित गर्नुपर्ने सन्देश दिएका छन्। त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले स्वस्थ समुदाय निर्माणका लागि नागरिकमा नियमित स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचान गर्ने बानीको विकास आवश्यक रहेको बताएका छन्। मधुमेहजस्ता दीर्घकालीन रोगको जोखिम कम गर्न जनचेतना र नियमित परीक्षण महत्त्वपूर्ण हुने उनको भनाइ छ।

ब्लड सुगर र एचबीएवनसी परीक्षण किन महत्त्वपूर्ण  ?

मेट्रोल्याब्सले सञ्चालन गरेको अभियानमा सर्वसाधारणले निःशुल्क फास्टिंङ अर्थात र्यान्डम ब्लड सुगर  तथा एचबीएवनसी परीक्षण गराउन सक्नेछन्।

ब्लड सुगर परीक्षणले परीक्षण गरिएको समयमा रगतमा चिनीको मात्रा कति छ भन्ने जानकारी दिन्छ।फास्टिङ ब्लड सुगर परीक्षण खाली पेटमा गरिन्छ भने र्यान्डम ब्लड सुगर परीक्षण दिनको जुनसुकै समयमा गर्न सकिन्छ।

अर्कोतर्फ, एचबीएवन सी परीक्षणले पछिल्लो करिब दुईदेखि तीन महिनाको औसत रक्तचिनीको अवस्थाबारे जानकारी दिन्छ। यसले एकपटकको ब्लड सुगर परीक्षणभन्दा फरक ढंगले लामो अवधिको रक्तचिनी नियन्त्रणको अवस्था बुझ्न मद्दत गर्छ।

मधुमेहको जोखिम भएका व्यक्तिहरूका लागि यी परीक्षण रोगको पहिचान तथा व्यवस्थापनमा उपयोगी हुन्छन्। तर परीक्षणको नतिजा चिकित्सकको सल्लाह र आवश्यक परे थप परीक्षणका आधारमा व्याख्या गर्नुपर्छ।

३० वर्षमाथिका र जोखिम समूहका व्यक्तिलाई विशेष आग्रह

मेट्रोल्याब्सले विशेषगरी ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई परीक्षणमा सहभागी हुन आग्रह गरेको छ। त्यस्तै, परिवारमा मधुमेहको इतिहास भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोलको समस्या भएका, ज्येष्ठ नागरिक तथा गर्भावस्थामा मधुमेह देखिएका वा पहिले यस्तो समस्या भोगेका महिलालाई पनि परीक्षण गराउन प्रोत्साहित गरिएको छ।

मधुमेहको जोखिम उमेरसँगै मात्र सम्बन्धित हुँदैन। पारिवारिक इतिहास, शारीरिक निष्क्रियता, अस्वस्थ खानपान, मोटोपन तथा अन्य स्वास्थ्य अवस्थाले पनि जोखिम बढाउन सक्छन्। त्यसैले लक्षण नदेखिए पनि जोखिम समूहमा पर्ने व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाहअनुसार परीक्षण गराउनु उपयुक्त हुन्छ।

रोकथाममुखी स्वास्थ्य सेवामा मेट्रोल्याब्सको जोड

मेट्रोल्याब्सका प्रबन्ध निर्देशक तथा जनस्वास्थ्यविद् शंकर देवकोटाका अनुसार रोग लागेपछि उपचार खोज्नु मात्र पर्याप्त छैन। रोग लाग्नुअघि नै सचेतना फैलाउने, समयमै परीक्षण गराउने र रोकथाममुखी स्वास्थ्य संस्कृतिको विकास गर्नु पनि उत्तिकै आवश्यक छ। उनका अनुसार यही उद्देश्यका साथ कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क मधुमेह परीक्षण अभियान सञ्चालन गरेको हो। ‘गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुग्नु मात्र पर्याप्त छैन, त्यो रोकथाममुखी र किफायती पनि हुनुपर्छ’ भन्ने मान्यताका साथ मेट्रोल्याब्सले सेवा विस्तार र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको उनले बताएका छन्। नेपालकै पहिलो पूर्ण डिजिटल डायग्नोस्टिक प्रयोगशालाका रूपमा स्थापित मेट्रोल्याब्सले अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिमार्फत प्रयोगशाला परीक्षण सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार प्रयोगशालामा युएस एफडिए एप्रुभ तथा सिई क्लियर्ड  प्रविधि र उपकरण प्रयोग गरिन्छ। साथै, परीक्षणको प्रकृतिअनुसार गोल्ड स्टैण्र्ड विधि  अपनाउने, रोबोटिक टोटल ल्याब अटोमेसन प्रणाली तथा अत्याधुनिक एचपिएलसी प्रविधि प्रयोग गर्ने गरिएको छ। परीक्षण सेवा विशेषज्ञ प्याथोलोजिस्टको निगरानीमा सञ्चालन हुँदै आएको कम्पनीको भनाइ छ।

कसरी लिन सकिन्छ निःशुल्क परीक्षण सेवा ?

मेट्रोल्याब्सको यस अभियानअन्तर्गत निःशुल्क परीक्षण सेवा लिन इच्छुक सर्वसाधारणले माई हेल्थ नाउ एप  डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपछि मेट्रोल्याब्समा उपस्थित भई फास्टिङ, र्यान्डम सुगर, एचबीएवनसी परीक्षण गराउन सक्नेछन्।

यो सेवा सन् २०२६ डिसेम्बर ३१ सम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

मधुमेह नियन्त्रणको पहिलो पाइला रोगबारे जानकारी राख्नु र समयमै परीक्षण गराउनु हो। आफूलाई कुनै लक्षण नदेखिएको अवस्थामा पनि जोखिम समूहमा पर्ने व्यक्तिले स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनु आवश्यक छ।

पारस खड्काले रक्त नमुना दिएर सुरु गरेको यो अभियानको सन्देश पनि यही हो—स्वास्थ्यप्रति सचेत हुन रोग लाग्नैपर्ने छैन। आज गरिने एउटा सामान्य परीक्षणले भोलि देखिन सक्ने जटिल स्वास्थ्य जोखिम समयमै पहिचान गर्न सहयोग पुर्‍याउन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट