नेभिगेशन

भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया

नेपाल हेल्थ न्युज, नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का चिकित्सकहरूले गर्भमै रहेको शिशुको मेरुदण्डको गम्भीर जन्मजात समस्या शल्यक्रियामार्फत सुधार गरेका छन्।

गत नोभेम्बर १२ मा २५ हप्ताको गर्भमा रहेको शिशुको ‘माइलोमेनिङ्गोसेल’ नामक समस्याको उपचारका लागि करिब ६ घण्टा लामो ओपन फिटल सर्जरी गरिएको हो। भारतमा यस प्रकारको शल्यक्रिया गरिएको यो पहिलोपटक भएको एम्सले जनाएको छ।

माइलोमेनिङ्गोसेल स्पाइना बिफिडाको गम्भीर प्रकार हो। यसमा भ्रूणको मेरुदण्ड पूर्ण रूपमा विकास नहुँदा मेरुदण्डका केही भाग बाहिर निस्कन्छन्। यसले शिशुमा पक्षाघात, हाइड्रोसेफलस तथा अन्य स्नायुजन्य समस्या निम्त्याउन सक्छ।

शल्यक्रियाका लागि पाँच सातासम्म तयारी गरिएको थियो। न्युरोसर्जरी, स्त्रीरोग, भ्रूण चिकित्सा, एनेस्थेसिया र नवजात शिशु उपचारलगायत विभिन्न विभागका ३० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी भएका थिए।

अध्ययनहरूले उपयुक्त अवस्थामा गर्भमै शल्यक्रिया गर्दा जन्मपछि मस्तिष्कमा पानी जम्ने समस्याका लागि गरिने उपचारको आवश्यकता घट्न तथा शिशुको शारीरिक विकासमा सुधार आउन सक्ने देखाएका छन्। तर, यसले पूर्ण निको हुने सुनिश्चितता भने गर्दैन।

यस्तो शल्यक्रिया सबै गर्भवतीका लागि उपयुक्त हुँदैन। समयअगावै प्रसूति हुने र भविष्यको गर्भधारणमा जटिलता आउने जोखिमसमेत रहेकाले विशेषज्ञको विस्तृत मूल्याङ्कनपछि मात्रै गरिन्छ।

एम्सका अनुसार भारत सरकारको जननी शिशु सुरक्षा कार्यक्रमअन्तर्गत उक्त शल्यक्रिया परिवारलाई निःशुल्क उपलब्ध गराइएको हो। यस उपलब्धिलाई भारतमा भ्रूण शल्यचिकित्साको विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

स्रोतः एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट