नेभिगेशन
१५० जनाको स्वास्थ्य परीक्षण, ३२ जनाद्वारा रक्तदान

रामजानकी पुस्तकालयको १६औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र छात्रवृत्ति वितरण

स्वास्थ्य, शिक्षा र मानव सेवालाई जोड्दै रामजानकी पुस्तकालय

नेपाल हेल्थ न्युज, जनकपुरधाम । श्री रामजानकी पुस्तकालयको आयोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५, रामपुरामा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष छठ पर्वको पारणका दिन आयोजना हुँदै आएको उक्त कार्यक्रम यस वर्ष १६औँ वर्षमा प्रवेश गरेको हो।

कार्यक्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका करिब १५० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डा. रामनन्दन प्रसाद चौधरी रहनुभएको थियो। उहाँ इशान बाल तथा महिला अस्पतालका प्रमुख बाल शल्यचिकित्सक, पेडियाट्रिक युरोलोजिस्ट तथा कार्यकारी निर्देशक हुनुहुन्छ। उहाँकै सहयोग, पहल र निर्देशनमा विगत १६ वर्षदेखि निरन्तर स्वास्थ्य शिविरलगायतका सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।

raktadan-ramjanaki1-1794835127.jpeg
स्वास्थ्य शिविरमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजी सेवातर्फ प्रोफेसर डा. चौधरीले सेवा दिनुभएको थियो। त्यस्तै, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, हाडजोर्नी तथा दन्तरोग विशेषज्ञलगायतका चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण र आवश्यक परामर्श प्रदान गरेका थिए। जनरल फिजिसियनका रूपमा प्रा. डा. रामेश्वर महासेठलगायत चिकित्सकहरूको सहभागिता रहेको थियो।

यसैगरी, आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। रक्तदानमार्फत आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमका अवसरमा स्वर्गीय बाबाजी चौधरी तथा कबुतरीज देवी चौधरी मेमोरियल ट्रस्टको तर्फबाट वडा नम्बर १५ का एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो। शिक्षाप्रति विद्यार्थीको लगाव बढाउन र प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको आयोजकले जनाएको छ।

छठ पर्वको पारण तथा सूर्य दर्शनपछिको दिनलाई सामाजिक सेवाको अवसरका रूपमा उपयोग गर्दै पुस्तकालयले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ। स्वास्थ्य सेवा, रक्तदान र शैक्षिक सहयोगलाई एकै ठाउँमा जोड्ने यस अभियानले वडा नम्बर १५ सहित आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई लाभ पुर्‍याउँदै आएको छ।

rakda-dan-ramjanki-1794835057.jpeg
कार्यक्रम वडा नम्बर १५ का वडा अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय युवा, समाजसेवी, पुस्तकालयका प्रतिनिधि तथा विभिन्न वडाका सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट