केही वर्षअघि कस्मेटिक सर्जरी भनेपछि धेरै नेपालीले चलचित्रका कलाकार, मोडेल वा ग्ल्यामर क्षेत्रमा काम गर्ने व्यक्तिहरूको विषय मात्र सम्झन्थे । तर अहिले समय फेरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, सेल्फी संस्कृति, बढ्दो सौन्दर्य चेतना र मानसिक स्वास्थ्यप्रतिको जागरणसँगै सामान्य गृहिणीदेखि कार्यालयमा काम गर्ने कर्मचारीसम्म आफ्नो अनुहार, छाला र शरीरको बनावटप्रति सचेत बन्दै गएका छन् । उपचारका लागि आउने धेरै सेवाग्राहीको मुख्य समस्या अनुहारको परिवर्तन मात्र नभई त्यससँग जोडिएको आत्मविश्वासको कमी पनि हो । धेरै गृहिणीहरू पुराना फोटो लिएर आउनुहुन्छ । पहिला म यस्तो देखिन्थेँ, अहिले उमेर बढ्यो, बच्चा जन्माएपछि वा धेरै तनावका कारण अनुहार फेरिएको जस्तो लाग्छ,’ भनेर उहाँहरूले आफ्नो मनको कुरा सुनाउनुहुन्छ । यस्तो परिवर्तनका कारण धेरै महिलामा आत्मविश्वास घट्ने, सामाजिक रूपमा असहज महसुस हुने तथा मानसिक तनाव बढ्ने समस्या देखिन्छ
आँखा उपचारको एउटा विशिष्ट शाखा
आधुनिक नेत्रचिकित्सामा आठदेखि नौवटा उपविशेषज्ञता (सब–स्पेसियालिटी) मध्ये ओकुलोप्लास्टी सबैभन्दा विशिष्टीकृत हो । यसले आँखा, आँखाको ढकनी, आँसु बग्ने नली तथा आँखा वरपरका संरचनामा हुने जन्मजात समस्या, चोटपटक, ट्युमर तथा उमेरसँगै आउने परिवर्तनहरूको उपचार गर्छ । ओकुलोप्लास्टीलाई दुई भागमा बुझ्न सकिन्छ— कार्यात्मक (फङ्सनल) र कस्मेटिक ।
कार्यात्मक उपचारले दृष्टि र आँखाको स्वास्थ्य जोगाउँछ भने कस्मेटिक उपचारले उमेरसँगै आउने परिवर्तन सुधार्दै अनुहारको प्राकृतिक आकर्षणलाई कायम राख्न सहयोग गर्छ । उपचारका लागि आउने सेवाग्राहीमध्ये गृहिणीहरूको संख्या उल्लेखनीय छ ।
विवाह, मातृत्व, बढ्दो उमेर वा लामो समयको तनावले अनुहारमा आएको परिवर्तनका कारण धेरै महिलाले आफ्नो आत्मविश्वास गुमाएको अनुभव सुनाउने गरेका छन् । कतिपय विवाहित महिलाले श्रीमानले आफूलाई पहिलेजस्तो ध्यान नदिएको हो कि भन्ने चिन्ता व्यक्त गर्छन् भने युवायुवतीमा आफ्नो रूप परिवर्तनका कारण सम्बन्ध र आत्मविश्वासमा असर परेको महसुस हुने गरेको छ ।
उचित उपचारपछि भने धेरै सेवाग्राहीमा सकारात्मक परिवर्तन देखिएको छ । नेपालमा मङ्गोलियन समुदायका व्यक्तिमा माथिल्लो ढकनीको प्राकृतिक क्रेस सानो वा नहुने भएकाले उमेरसँगै छाला झोलिने समस्या धेरै देखिन्छ । डर्माटोकेलासिस भनिने यो अवस्थाले सुरुमा सौन्दर्यमा असर गरे पनि पछि दृष्टिसमेत छेक्न सक्छ ।
यस्तो अवस्थामा गरिने अपर आईलिड सर्जरीले दृष्टि सुधार्नुका साथै अनुहारलाई पनि थप ताजगीपूर्ण देखाउन मद्दत गर्छ । ओकुलोप्लास्टीअन्तर्गत आँखा वरपर पलाउने ट्युमरहरूको शल्यक्रिया पनि गरिन्छ । ट्युमर हटाएपछि पुनः नआउने भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले उपचारपछि नियमित फलोअप आवश्यक हुन्छ । त्यसैगरी आईब्याग तथा अपर आईलिड सर्जरीको प्रभाव सामान्यतया १० देखि १५ वर्षसम्म कायम रहन्छ ।
बिना शल्यक्रियाका आधुनिक एस्थेटिक उपचार
प्रविधिको विकाससँगै अहिले धेरै सौन्दर्य उपचार शल्यक्रियाबिनै सम्भव भएका छन् । पीआरपी (प्लेटलेट रिच प्लाज्मा) उपचारले छालाको पुनर्जीवन तथा कपाल पुनःउत्पादनमा सहयोग पु¥याउँछ भने बोटक्स र डर्मल फिलरले चाउरी कम गर्न तथा अनुहारलाई प्राकृतिक रूपमा सन्तुलित बनाउन मद्दत गर्छ । त्यस्तै लेजर हेयर रिमुभल, सीओ टु लेजर तथा प्लाज्मा फाइब्रोब्लास्टिङमार्फत मुसा, साना ट्युमर तथा अनावश्यक रौँ हटाउने उपचार पनि उपलब्ध छन् ।
यी प्रविधिमा चिरफार नहुने, रिकभरी समय छोटो हुने र दैनिक जीवनमा छिट्टै फर्किन सकिने विशेषता रहेको डा. भण्डारी बताउँछिन् । चिकित्सकीय हाइड्राफेसियल सामान्य फेसियलभन्दा पूर्ण रूपमा फरक उपचार हो । यसमा सुरुमा अत्याधुनिक उपकरणबाट छालाको विस्तृत विश्लेषण गरिन्छ। छालाको प्रकार, चाउरी, उमेरका दाग, घामको असर, चिल्लोपन वा सुख्खापनको मूल्याङ्कनपछि मात्रै व्यक्तिअनुसार उपचार छनोट गरिन्छ ।
जिद्दी बोसो हटाउने आधुनिक विज्ञान
शरीरका केही भागमा जमेको बोसो डाइट र व्यायामबाट पनि नघट्ने हुन्छ । यस्ता स्टोबर्न फ्याट’ हटाउन अहिले क्रायोलाइपोलाइसिस (कुल स्कल्प्टिङ) लोकप्रिय बन्दै गएको छ । यस प्रविधिमा अत्यधिक चिसो तापक्रम प्रयोग गरेर लक्षित बोसोका कोषलाई निष्क्रिय बनाइन्छ । त्यसपछि शरीरको प्राकृतिक प्रक्रियामार्फत ती कोष क्रमशः बाहिर निष्कासित हुन्छन् । एउटा सेसनपछि लक्षित भागको बोसो करिब २०–३० प्रतिशतसम्म कम हुन सक्छ । परिणाम भने क्रमिक रूपमा करिब तीन महिनासम्म देखिँदै जान्छ ।उपचारका क्रममा तौलभन्दा पनि शरीरको बोसोको प्रतिशतलाई आधार बनाएर प्रगति मूल्याङ्कन गरिन्छ ।
नन–सर्जिकल ब्रेस्ट कन्टुरिङ
हर्मोनल परिवर्तन, मोटोपन वा वंशाणुगत कारणले केही महिलामा स्तनको आकार अत्यधिक ठूलो हुन्छ । यसले ढाड दुख्ने, दैनिक गतिविधिमा असहज हुने तथा आत्मविश्वासमा असर पार्न सक्छ । रेडियो फ्रिक्वेन्सी, हाइफू तथा अन्य आधुनिक उपकरणमार्फत केही अवस्थामा बिना शल्यक्रिया स्तनको भोल्युम कम गर्न सकिने उपचार उपलब्ध रहेको छ । त्यस्तै स्तनको आकार सानो भएकाले असन्तुष्ट महिलाका लागि नन–सर्जिकल ब्रेस्ट अग्मेन्टेसनका विकल्प पनि उपलब्ध छन् । यद्यपि यी उपचार स्थायी नभई निश्चित अवधिसम्म मात्र प्रभावकारी रहने भएकाले आवश्यकताअनुसार बुस्टर सेसन लिनुपर्ने हुन्छ ।
केमिकल पिलिङ: नयाँ छालाको पुनर्जन्म
केमिकल पिलिङले छालाको माथिल्लो तहका मृत कोष हटाएर नयाँ, स्वस्थ छाला बन्न सहयोग गर्छ । यो उपचार अनुहारमा मात्र नभई घाँटी, हात तथा शरीरका अन्य भागमा पनि गर्न सकिन्छ। पिग्मेन्टेसन, मेलाज्मा, एक्नेका दाग, खुला पोर्स, मसिना चाउरी तथा निस्तेज छालाको उपचारमा यसको प्रयोग बढ्दो छ । आधुनिक प्रविधिले सौन्दर्य उपचारलाई विलासिताबाट निकालेर विज्ञानमा आधारित स्वास्थ्य सेवाको रूपमा स्थापित गरिरहेको छ । योग्य विशेषज्ञको मूल्याङ्कन, सुरक्षित प्रविधि र यथार्थपरक अपेक्षासहित गरिने उपचारले अनुहार मात्र होइन, मानिसको आत्मविश्वास र जीवनको गुणस्तरसमेत परिवर्तन गर्न सक्छ ।
रामजानकी पुस्तकालयको १६औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र छात्रवृत्ति वितरण
सोमबार, कात्तिक ३०, २०८३
प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. कार्की मनोनीत
सोमबार, कात्तिक ३०, २०८३
बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौँः मुख्यमन्त्री थापा
सोमबार, कात्तिक ३०, २०८३
सुत्नुअघि मोबाइलमा घण्टौँ रिल्स हेर्ने बानीले बिगार्छ निद्रा, यस्तो छ डब्लुएचओको सुझाव
सोमबार, कात्तिक ३०, २०८३
