नेभिगेशन

सुत्नुअघि मोबाइलमा घण्टौँ रिल्स हेर्ने बानीले बिगार्छ निद्रा, यस्तो छ डब्लुएचओको सुझाव

नेपाल हेल्थ न्युज, काठमाडौं । सुत्ने बेलामा मोबाइल स्क्रोल गर्ने बानीले निद्रा लाग्न ढिलो हुनुका साथै निद्राको गुणस्तरमा समेत असर पार्न सक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुत्नुअघि स्क्रिन प्रयोग नगर्न र सुत्ने समयभन्दा एक घण्टाअघि मोबाइल बन्द गर्न सुझाव दिएको छ।

राति ओछ्यानमा पल्टिएपछि पाँच–दस मिनेट रिल्स हेर्ने सोचले मोबाइल चलाउन थाल्ने तर घण्टौँ बितेको पत्तै नपाउने समस्या धेरैमा देखिन्छ। मोबाइलको स्क्रिन, छोटा भिडियो र सामाजिक सञ्जालमा आउने निरन्तर नयाँ सामग्रीले मस्तिष्कलाई सक्रिय राख्न सक्छ। यसले निदाउन ढिलाइ गराउनुका साथै पर्याप्त निद्रा लिनसमेत बाधा पु¥याउन सक्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हेल्थियर ह्यान्डबुक मा स्क्रिनको अत्यधिक प्रयोग खराब स्वास्थ्य र अपर्याप्त निद्रासँग सम्बन्धित हुन सक्ने उल्लेख छ। विशेषगरी सुत्नुअघि स्क्रिन हेर्दा निद्राको गुणस्तर प्रभावित हुन सक्छ। त्यसैले डब्लुएचओले सुत्नुभन्दा एक घण्टाअघि मोबाइल तथा अन्य स्क्रिन उपकरण बन्द गर्न सुझाव दिएको छ।

डब्लुएचओको बालबालिका तथा किशोरकिशोरीको स्वस्थ निद्रासम्बन्धी मार्गदर्शनले पनि सुत्नुअघि स्क्रिन प्रयोग नगर्न, नियमित सुत्ने समय निर्धारण गर्न र मोबाइलजस्ता उपकरण शयनकक्षबाहिर राख्न सुझाव दिएको छ।

मोबाइलले निद्रामा कसरी असर गर्छ ?

निद्रा लाग्न ढिलाइः स्क्रिनबाट आउने प्रकाश र भिडियोको निरन्तर उत्तेजनाले मस्तिष्कलाई सक्रिय राख्न सक्छ।

जैविक घडीमा असरः राति लामो समय स्क्रिन हेर्दा शरीरको प्राकृतिक निद्रा–जागरण चक्र प्रभावित हुन सक्छ।

मानसिक सक्रियताः विभिन्न प्रकारका भिडियो हेर्दा मनमा अनेकौँ विचार र भावनात्मक प्रतिक्रिया उत्पन्न हुन सक्छन्।

दिनभर थकानः पर्याप्त निद्रा नपुग्दा भोलिपल्ट थकान, एकाग्रतामा कमी र काम गर्ने क्षमतामा असर पर्न सक्छ।

निद्रा सुधार्न अपनाउनुस् यी पाँच उपाय

१. सुत्नुभन्दा कम्तीमा ३० देखि ६० मिनेटअघि मोबाइल बन्द गर्ने।

२. मोबाइललाई ओछ्यानबाट टाढा वा सम्भव भए शयनकक्षबाहिर राख्ने।

३. मोबाइलको सट्टा किताब पढ्ने वा शान्त संगीत सुन्ने।

४. हरेक दिन नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्ने।

५. राति क्याफिनयुक्त पेय पदार्थको सेवन नगर्ने र सुत्ने वातावरण शान्त बनाउने।

मोबाइलमा रिल्स हेर्नु मनोरञ्जनको माध्यम हुन सक्छ, तर सुत्ने समयको मूल्यमा यसको प्रयोग गर्नु उचित होइन। पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्नुअघि मोबाइलबाट दूरी बनाउनु आवश्यक छ। आजैदेखि सुत्नुअघि एक घण्टा मोबाइल बन्द गर्ने बानी बसालौँ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट