नेभिगेशन

जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको केएमसीमा निःशुल्क उपचार सुरु

नेपाल हेल्थ न्युज, काठमाडौं । जापानमा मस्तिष्कघात भएपछि विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। नेपाल आइपुगेपछि उनको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार थालिएको छ।

रोजगारीका लागि जापान पुगेकी कुँवरको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी गम्भीर अवस्थामा पुगेकी थिइन्। लामो समयसम्म उपचार गराउनुपर्ने अवस्था र आर्थिक कठिनाइका कारण उनलाई जापानमै उपचार जारी राख्न तथा नेपाल फर्काउनसमेत समस्या भएको थियो।

यस्तो अवस्थामा नेपाली कांग्रेसका नेता एवं गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष डा. सुनिलकुमार शर्माको समन्वय र पहलमा उनलाई नेपाल ल्याउने व्यवस्था मिलाइएको हो।

सोमबार नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी कुँवरलाई लिन डा. शर्मा चिकित्सक तथा एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई तत्काल केएमसी शिक्षण अस्पताल पुर्‍याएर भर्ना गरिएको छ। अस्पतालका चिकित्सकले उनको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण गर्दै थप उपचार अघि बढाएका छन्।

नेपाल आइपुगेपछि आफू कहाँ आइपुगेको भन्ने जिज्ञासा राखेकी विष्णुलाई डा. शर्माले आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी दिएका थिए। लामो समय विदेशमा कठिन परिस्थितिको सामना गरेपछि स्वदेश फर्किएकी उनी यो कुरा सुनेर भावुक बनेकी थिइन्।

डा. शर्माले विष्णु अस्पतालबाट पूर्ण रूपमा डिस्चार्ज नहुँदासम्म उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा अस्पतालबाट निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ।

‘आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन,’ डा. शर्माले भनेका छन्। डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा सक्रिय छन्। उनले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छन्। त्यसैगरी विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने अभियानमा समेत उनको संलग्नता रहँदै आएको छ।

हाल विष्णु परिवारको साथमा केएमसी अस्पतालमा उपचाररत छिन्। छ महिनासम्म जापानमा स्वास्थ्यसँग संघर्ष गरेकी उनको थप उपचार र स्वास्थ्य सुधारका लागि चिकित्सकको निगरानीमा उपचार प्रक्रिया अघि बढिरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट