नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको ह्याम्स ग्रुपले व्यवसाय विस्तार गर्ने क्रममा अटोमोबाइल क्षेत्रमा पनि लगानी सुरु गरेको छ। ग्रुपले नेपालमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्स भित्र्याउँदै पूर्वक्रिकेटर पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
क्यूजे मोटर्सको औपचारिक ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले पारस खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरेका हुन्।
कार्यक्रममा अध्यक्ष भण्डारीले नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका मोटरसाइकल उपलब्ध गराउने उद्देश्यसहित क्यूजे मोटर्ससँग सहकार्य गरिएको बताए। प्रिमियम फिचर भएका मोटरसाइकललाई उपभोक्ताले सहज रूपमा खरिद गर्न सक्ने प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको उनको भनाइ थियो।
कम्पनीले प्रारम्भिक चरणमै केही मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराइसकेको जनाएको छ। बजारमा प्राप्त प्रारम्भिक प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भण्डारीले स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य र गुणस्तरलाई प्राथमिकतामा राखिने बताए।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बोल्दै पारस खड्काले नेपाली निजी क्षेत्रले खेलकुदमा संस्थागत रूपमा लगानी गर्न थालेको विषयलाई सकारात्मक रूपमा लिएको बताए। व्यक्तिगत प्रयासभन्दा माथि उठेर व्यावसायिक संस्थाहरूले खेलकुदलाई प्राथमिकता दिनु नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने उनको धारणा थियो।
ह्याम्स ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्ससँग पनि साझेदारी गरिरहेको छ। खड्काले निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा क्रिकेटलगायतका खेललाई व्यावसायिक र व्यवस्थित उद्योगका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्यूजे मोटर्सको अन्तर्राष्ट्रिय बजारमा रहेको उपस्थिति र विभिन्न उत्पादनबारे समेत जानकारी दिइएको थियो। कम्पनीले क्यूजे मोटर्स ब्रान्डका साथै बेनेली ब्रान्डअन्तर्गतका मोटरसाइकलसमेत उत्पादन गर्दै आएको बताइएको छ।
ह्याम्स ग्रुपको नयाँ अटोमोबाइल व्यवसायको नेतृत्व समीर भण्डारीले गर्ने भएका छन्। ग्रुपका अध्यक्ष आरएस भण्डारीका छोरा समीरले क्यूजे मोटर्सको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। उनको नेतृत्वमा कम्पनीले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका मोटरसाइकलको बिक्री तथा बजार विस्तारलाई अगाडि बढाउने योजना बनाएको छ।
स्वास्थ्य क्षेत्रबाट व्यवसायिक यात्रा सुरु गरेको ह्याम्स ग्रुपका लागि अटोमोबाइल क्षेत्रमा प्रवेश गर्नु लगानी विविधीकरणको महत्वपूर्ण कदम मानिएको छ। नयाँ व्यवसायमार्फत नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थिति बलियो बनाउने कम्पनीको लक्ष्य छ।
स्वास्थ्य मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर, उपचारात्मक सेवा महाशाखामा डा. तिवारी
मंगलबार, मंसिर १, २०८३
चर्चित जेनजी युवा शान्तनु ढकालको दोस्रो जटिल शल्यक्रिया हुँदै
मंगलबार, मंसिर १, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा
मंगलबार, मंसिर १, २०८३
जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको केएमसीमा निःशुल्क उपचार सुरु
मंगलबार, मंसिर १, २०८३
