नेभिगेशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा

नेपाल हेल्थ न्युज, काठमाडौं । विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालमा छुट्याइएका निःशुल्क शय्याको अवस्था अब घरमै बसेर अनलाइनमार्फत जानकारी लिन सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको हो।

नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले देशका विभिन्न अस्पतालमा निःशुल्क उपचारका लागि उपलब्ध शय्याको विवरण सहजै हेर्न सक्नेछन्। यसका लागि मन्त्रालयले https://freehealth.mohp.gov.np/ वेबसाइट उपलब्ध गराएको छ।

नेपालको संविधान २०७२ को धारा ३५ ले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। साथै, आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था छ।

यही व्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) अनुसार अस्पतालहरूले आफ्नो कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने प्रावधान छ।

तर, यसअघि अस्पतालमा निःशुल्क शय्या उपलब्ध भए–नभएको जानकारी सहजै प्राप्त नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए। कतिपय अवस्थामा शय्या खाली हुँदाहुँदै पनि जानकारीको अभावमा बिरामीले दुःख पाउनुपर्ने अवस्था थियो।

मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टलमा अस्पतालअनुसार उपलब्ध निःशुल्क शय्याको विवरण राखिएको छ। त्यसैगरी, सम्बन्धित अस्पतालमा निःशुल्क उपचार सेवा लिन आवश्यक समन्वय तथा जानकारीका लागि सम्पर्क व्यक्ति (फोकल पर्सन) को फोन नम्बरसमेत समावेश गरिएको छ।

यस पोर्टलले निःशुल्क उपचार सेवामा सर्वसाधारणको पहुँच बढाउनुका साथै अस्पतालको सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकले उपचारका लागि अस्पताल धाउँदा भोग्नुपर्ने अनावश्यक झन्झट कम हुने विश्वास मन्त्रालयको छ। निःशुल्क शय्याको उपलब्धता हेर्न सेवाग्राहीले मन्त्रालयको आधिकारिक पोर्टल https://freehealth.mohp.gov.np/  मा प्रवेश गर्न सक्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट