नेपाल हेल्थ न्युज, काठमाडौं। एन्टिबायोटिकको जथाभावी प्रयोग, चिकित्सकको सिफारिसबिना औषधि सेवन र उपचारको अवधि पूरा नगर्ने प्रवृत्तिले विश्वभर एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् प्रतिजैविक प्रतिरोधको जोखिम बढाउँदै लगेको छ। सामान्य संक्रमणको उपचारमा समेत एन्टिबायोटिक प्रभावहीन हुँदै जाने अवस्था सिर्जना भइरहेका बेला नेपालमा पनि यसको जोखिम गम्भीर बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (नोभेम्बर १८–२४) को पहिलो दिन बुधबार काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी सरकारी निकाय, औषधि क्षेत्रका प्रतिनिधि तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूले एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग र एएमआर नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन्।
औषधि व्यवस्था विभागको आयोजनामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभाग पुगेर सम्पन्न भएको थियो। यस वर्षको अभियान ‘वान हेल्थ, वान एक्सन, प्रिभेन्ट एएमआर नाउ’ अर्थात् ‘एक स्वास्थ्य, एक अभियानःअहिले नै प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नारासहित सञ्चालन भइरहेको छ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एएमआर नियन्त्रण अहिले विश्वकै प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये एक बनेको बताउनुभयो। उहाँका अनुसार एन्टिबायोटिकको अनावश्यक, अत्यधिक र गलत प्रयोगलाई नियन्त्रण गर्न नसके भविष्यमा प्रभावकारी औषधिको अभाव हुनसक्छ।
उहाँले भन्नुभयो, ‘एन्टिबायोटिकको दुरुपयोग, बढी प्रयोग र गलत प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न आवश्यक छ। भविष्यका लागि सुरक्षित राख्नुपर्ने रिजर्भ एन्टिबायोटिकलाई सामान्य अवस्थामा प्रयोग गर्नुहुँदैन। तिनलाई गम्भीर संक्रमणको अवस्थामा मात्र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ।’
भट्टराईले एएमआर कुनै एउटा क्षेत्र वा मन्त्रालयको मात्र समस्या नभई मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्नुभयो। त्यसैले ‘वान हेल्थ’ अवधारणाअनुसार सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
नेपालमा वाच ग्रुपका एन्टिबायोटिकको खपत ६५–६७ प्रतिशत
औषधि व्यवस्था विभागका अनुगमन, मूल्याङ्कन तथा कानुन कार्यान्वयन महाशाखा प्रमुख शम्भु साहले नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी प्रवृत्ति चिन्ताजनक रहेको बताउनुभयो ।
उहाँका अनुसार विभागले हालै औषधि आयातकर्ता तथा उत्पादक संघहरूसँगको सहकार्यमा एन्टिमाइक्रोबियल औषधिको खपतसम्बन्धी तथ्यांक संकलन तथा विश्लेषण गरेको थियो। उक्त विश्लेषणले नेपालमा विश्व स्वास्थ्य संगठनले सावधानीपूर्वक प्रयोग गर्न सिफारिस गरेका ‘वाच ग्रुप’का एन्टिबायोटिकको खपत उच्च रहेको देखाएको छ।
साहका अनुसार विश्व स्वास्थ्य संगठनको एन्टिबायोटिक वर्गीकरणअनुसार नेपालमा प्रयोग हुने एन्टिबायोटिकमध्ये ‘एक्सेस ग्रुप’को हिस्सा ७० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने मान्यता छ। तर विभागले गरेको अध्ययनमा ‘वाच ग्रुप’का एन्टिबायोटिकको खपत नै ६५ देखि ६७ प्रतिशतसम्म देखिएको छ।

उहाँले भन्नुभयो, ‘वाच ग्रुपका एन्टिबायोटिकलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। तर हाम्रो खपतको प्रवृत्ति हेर्दा यही समूहका औषधि बढी प्रयोग भइरहेको देखिन्छ। यसलाई परिवर्तन गर्न आवश्यक छ।’
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई मुख्यतः तीन समूहमा वर्गीकरण गरेको छ।
एक्सेस ग्रुपः सामान्य संक्रमणको उपचारमा प्राथमिकताका साथ प्रयोग गर्न सिफारिस गरिएका एन्टिबायोटिक।
वाच ग्रुपः प्रतिरोध विकसित हुने सम्भावना तुलनात्मक रूपमा बढी भएकाले सीमित र सावधानीपूर्वक प्रयोग गर्नुपर्ने एन्टिबायोटिक।
रिजर्भ ग्रुपः अन्य औषधिले काम नगर्ने वा बहुऔषधि प्रतिरोधी गम्भीर संक्रमणमा अन्तिम विकल्पका रूपमा प्रयोग गर्नुपर्ने एन्टिबायोटिक।
साहका अनुसार एन्टिबायोटिकको प्रयोग गर्दा चिकित्सकको सिफारिस, संक्रमणको प्रकृति र औषधिको आवश्यकतालाई प्राथमिकता दिनुपर्छ। विशेषगरी रिजर्भ ग्रुपका औषधि भविष्यमा जटिल संक्रमणको उपचारका लागि प्रभावकारी रहिरहून् भन्ने उद्देश्यले तिनको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
पुर्जाबिना एन्टिबायोटिक बिक्रीले बढाउँदैछ जोखिम
साहले नेपालमा चिकित्सकको पुर्जाबिना औषधि पसलबाटै एन्टिबायोटिक बिक्रीवितरण हुने समस्या अझै कायम रहेको बताउनुभयो। बिरामीले सामान्य स्वास्थ्य समस्या देखिँदा औषधि पसलमा आफैँ एन्टिबायोटिक माग्ने र कतिपय औषधि पसलले पनि चिकित्सकको सिफारिसबिना उपलब्ध गराउने प्रवृत्तिले प्रतिजैविक प्रतिरोधको जोखिम बढाइरहेको उहाँको भनाइ छ।
उहाँका अनुसार एन्टिबायोटिकको गलत प्रयोगका प्रमुख कारणमा चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नु, औषधिको निर्धारित मात्रा र अवधि पूरा नगर्नु, अरूको अनुभवका आधारमा औषधि प्रयोग गर्नु तथा सरसफाइ र संक्रमण रोकथाममा पर्याप्त ध्यान नदिनु रहेका छन्।
‘एन्टिबायोटिकको प्रभावकारिता घट्दै जानु अहिले नदेखिने तर भविष्यमा ठूलो जनस्वास्थ्य संकट निम्त्याउन सक्ने समस्या हो। त्यसैले यसलाई साइलेन्ट प्यान्डेमिक अर्थात् मौन महामारीका रूपमा पनि बुझ्नुपर्छ,’ साहले भन्नुभयो ।
उहाँले एएमआर नियन्त्रणका लागि औषधि व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारण सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
एएमआर नियन्त्रणमा सबै क्षेत्रको साझा जिम्मेवारी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका महाशाखा प्रमुख डा. रोशन न्यौपानेले एएमआरको जोखिम न्यूनीकरणका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार एएमआर मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि र वातावरणसँग पनि जोडिएको साझा समस्या हो।
उहाँले भन्नुभयो, ‘एएमआर एकजनाको वा एउटा क्षेत्रको मात्र समस्या होइन। वातावरण, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रको सामूहिक जिम्मेवारी हो। यसका लागि आजैदेखि सहकार्य गर्न आवश्यक छ।’
डा.न्यौपानेले एन्टिबायोटिकको प्रभावकारिता भविष्यमा कायम राख्न अहिलेबाटै सचेतना र नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। एन्टिबायोटिक प्रभावहीन हुँदै जाने अवस्था रोक्न सरकारी निकाय, निजी क्षेत्र र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
सात दिनसम्म विभिन्न सचेतनामूलक कार्यक्रम
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा औषधि व्यवस्था विभागले नोभेम्बर १८ देखि २४ सम्म साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। विभागका अनुसार सात दिनसम्म विभिन्न सरोकारवाला संस्था तथा निकायसँगको सहकार्यमा जनचेतना अभिवृद्धि, तथ्यांक सार्वजनिक, प्रतिबद्धता तथा विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालमार्फत एएमआरसम्बन्धी सन्देश र छोटा भिडियो सामग्री प्रसारण गरिनेछ। त्यस्तै, नेपालमा एन्टिबायोटिकको खपतको प्रवृत्तिबारे संकलन गरिएको सन् २०२५ को तथ्यांक सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ।
त्यसैगरी एएमआर नियन्त्रणका लागि विभिन्न सरोकारवाला निकायले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम समेटिएको प्रतिबद्धतापत्र जारी गर्ने तयारी गरिएको छ। विद्यालयस्तरमा विद्यार्थीलाई एन्टिबायोटिकको सही प्रयोग, प्रतिजैविक प्रतिरोधका कारण र संक्रमण रोकथामका उपायबारे जानकारी दिइनेछ। विद्यार्थीमार्फत घरपरिवारसम्म सचेतना फैलाउने उद्देश्य विभागले राखेको छ। अस्पताल तथा आसपासका क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरिने विभागले जनाएको छ। सरसफाइ, स्वच्छता र संक्रमण रोकथामलाई प्रभावकारी बनाउन सके संक्रमणको जोखिम घट्ने र अनावश्यक एन्टिबायोटिक प्रयोगसमेत कम गर्न सकिने विभागको अपेक्षा छ।
औषधि प्रभावहीन हुने अवस्थाबाट जोगिन अहिले नै सचेत हुनुपर्ने
एन्टिमाइक्रोबियल रेसिस्टेन्स भन्नाले ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवले संक्रमणको उपचारमा प्रयोग गरिने औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्नु हो। यसका कारण संक्रमणको उपचार कठिन र महँगो बन्न सक्छ भने बिरामीको उपचार अवधि लम्बिने तथा मृत्युको जोखिमसमेत बढ्न सक्छ। विशेषगरी एन्टिबायोटिकको अनावश्यक प्रयोग, गलत औषधि छनोट, निर्धारित उपचार अवधि पूरा नगर्नु र पशुपन्छी तथा कृषि क्षेत्रमा एन्टिमाइक्रोबियलको अनुचित प्रयोगले यो समस्या थप जटिल बनाउँछ।
एएमआर नियन्त्रणका लागि औषधि मात्र होइन, संक्रमण हुन नदिने उपाय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। हातको सरसफाइ, सुरक्षित खानेपानी, खाद्य स्वच्छता, खोप, अस्पतालमा संक्रमण नियन्त्रण तथा पशुपन्छीमा औषधिको विवेकपूर्ण प्रयोग यसका महत्त्वपूर्ण पक्ष हुन्।
नेपालमा पनि एन्टिबायोटिकको खपतसम्बन्धी तथ्यांकले सावधानीपूर्वक प्रयोग गर्नुपर्ने औषधिको हिस्सा उच्च रहेको देखाएको अवस्थामा अब नियमनसँगै जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
एन्टिबायोटिक आवश्यक पर्दा मात्र चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्ने, अरूलाई दिइएको औषधि आफूले प्रयोग नगर्ने र औषधि व्यवसायीले पनि चिकित्सकको पुर्जाअनुसार मात्र बिक्रीवितरण गर्ने अभ्यास स्थापित गर्न सके एएमआर नियन्त्रणको अभियान प्रभावकारी बन्न सक्ने औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले बताउनुभयो।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहले दिएको सन्देश पनि यही हो—आज एन्टिबायोटिकको प्रभावकारिता जोगाउन सकिएन भने भोलिका पुस्ताले सामान्य संक्रमणको उपचारमा समेत ठूलो चुनौती सामना गर्नुपर्ने हुनसक्छ।
औषधिको प्रभावकारिता जोगाउन सचेतनाबाट कार्यान्वयनतर्फ अघि बढ्न डब्लुएचओको आव्हान
बुधबार, मंसिर २, २०८३
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३


