नेपाल हेल्थ न्युज, काठमाडौं । एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) नियन्त्रणका लागि मानव स्वास्थ्य, पशुपन्छी, कृषि तथा वातावरणलाई एकीकृत गरेर अघि बढ्नुपर्नेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जोड दिएको छ।
विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) का अवसरमा डब्लुएचओ दक्षिण–पूर्वी एसियाका इन्चार्ज डा. निलेश बुद्धले एएमआर भविष्यको मात्र नभई वर्तमानकै गम्भीर चुनौती भएको बबताउनुभएको छ ।
उहाँका अनुसार ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोधसँग सम्बन्धित समस्याका कारण विश्वमा हरेक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तत्काल प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण ३ करोड ९० लाखसम्म मानिसको मृत्यु हुन सक्ने अनुमान छ। यसले विश्व अर्थतन्त्रमा वार्षिक ३४ खर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक भारसमेत पार्न सक्छ।
यस वर्षको सचेतना सप्ताहको नारा ‘वन हेल्थ वन एक्सनःप्रिभेन्ट एएमआर नाउ’ रहेको छ। यसले मानव, पशुपन्छी, वनस्पति तथा वातावरणको स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई जोड दिँदै एएमआर नियन्त्रणमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।
डब्लुएचओका अनुसार एएमआर नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना अद्यावधिक, बजेट व्यवस्थापन, औषधि प्रयोग तथा प्रतिरोधको निगरानी, प्रयोगशाला क्षमता विस्तार, स्वास्थ्य संस्थामा सरसफाइ तथा स्वच्छता र संक्रमण रोकथाम कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ।
डा.बुद्धले एएमआर नियन्त्रणका प्रयासलाई प्राथमिक स्वास्थ्य सेवा र विश्वव्यापी स्वास्थ्य पहुँचसँग एकीकृत गर्नुपर्ने बबताउनुभएको छ । साथै, स्वास्थ्यकर्मी, पशु चिकित्सक, किसान, अनुसन्धानकर्ता, सरकार, निजी क्षेत्र र विकास साझेदारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
डब्लुएचओले एफएओ, यूएनईपी र डब्ल्यूओएएचसँगको सहकार्यमा निगरानी प्रणाली, प्रयोगशाला सञ्जाल, दक्ष जनशक्ति विकास तथा आपत्कालीन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ।
डब्लुएचओले एन्टिमाइक्रोबियल औषधिको जिम्मेवार प्रयोग, संक्रमण रोकथाम र प्रभावकारी व्यवस्थापनमार्फत औषधिको प्रभावकारिता जोगाउन सबै सरोकारवालालाई सचेतनाबाट कार्यान्वयनतर्फ अघि बढ्न आह्वान गरेको छ।
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३



