नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिनुभएको छ ।
२५औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै डा. केसीले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
आइतबार जारी विज्ञप्तिमा उहाँले तिहार र छठको सार्वजनिक बिदालाई मध्यनजर गर्दै सहमति कार्यान्वयनका लागि सरकारलाई केही दिन थप समय दिएको उल्लेख गर्नुभएको छ । अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नभए वा सहमतिविपरीत गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने उहाँको चेतावनी छ ।
आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पनि उहाँले बताउनुभएको छ । डा. केसीका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो ।
तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उहाँको आरोप छ । त्यसको विरोध गर्दै सहमति कार्यान्वयन तथा जनहितविपरीतका निर्णय खारेजीको मागसहित उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गर्नुभएको थियो ।
उक्त आन्दोलन कात्तिक २१ गते शिक्षामन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको थियो । ‘सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व हो,’ विज्ञप्तिमा डा. केसीले भन्नुभएको छ, ‘जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट छैन ।’
उहाँले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
स्वास्थ्यका विषयसहित यस्ता छन् बालेन र मोदीबीच भएको ८ बुँदे समझदारी
सोमबार, मंसिर ७, २०८३
नेशनल मेडिकल कलेजका पीजी प्रथम वर्षका चिकित्सकद्वारा सामूहिक राजीनामा
सोमबार, मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड
सोमबार, मंसिर ७, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त आह्वान
सोमबार, मंसिर ७, २०८३
