नेपाल हेल्थ न्युज, सर्लाही । उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी तथा तोडफोड गरेका छन्। आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै विभिन्न सामग्री तोडफोड गरेका हुन्।
मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन्। तीन दिनदेखि बिरामी रहेकी उनलाई उपचारका लागि बरहथवा नगर अस्पतालमा भर्ना गरिएको थियो।
प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारका क्रममा उनी अचानक बेहोस भएकी थिइन्। चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए।
अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो। तर, त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड भएको प्रहरीले जनाएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको प्रहरीले जानकारी दिएको छ। अस्पतालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ। यस्तै, आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।
घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार आइतबार बिहानसम्म घटनास्थलको अवस्था सामान्य रहेको छ।
यद्यपि, गर्भवती महिलाको मृत्यु चिकित्सकीय लापरबाहीकै कारण भएको हो वा होइन भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्वास्थ्यका विषयसहित यस्ता छन् बालेन र मोदीबीच भएको ८ बुँदे समझदारी
सोमबार, मंसिर ७, २०८३
नेशनल मेडिकल कलेजका पीजी प्रथम वर्षका चिकित्सकद्वारा सामूहिक राजीनामा
सोमबार, मंसिर ७, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त आह्वान
सोमबार, मंसिर ७, २०८३
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह गर्ने डा. केसीको चेतावनी
सोमबार, मंसिर ७, २०८३
