नेभिगेशन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त आह्वान

नेपाल हेल्थ न्युज, ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न चिकित्सा तथा नर्सिङ विधामा सहप्राध्यापक र उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले कार्यसम्पादन करार सेवामार्फत पदपूर्ति गर्ने गरी योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन पेस गर्न सक्नेछन्।

प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार सहप्राध्यापक पदका लागि युरोलोजी, जीआई सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, प्रसूति तथा स्त्रीरोग (अन्कोलोजी तथा ल्याप्रोस्कोपिक सर्जरी), न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स र अप्थाल्मोलोजी विधामा आवेदन खुलाइएको छ।

त्यस्तै, उपप्राध्यापक पदका लागि कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियाट्री, इन्टरनल मेडिसिन (जेरियाट्रिक), मेडिकल अन्कोलोजी, इएनटी तथा एडल्ट हेल्थ नर्सिङ विधामा दरखास्त माग गरिएको छ।

चिकित्सातर्फका पदमा आवेदन दिन सम्बन्धित विधामा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरेको हुनुपर्नेछ। साथै, उम्मेदवार नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ।

नर्सिङतर्फको उपप्राध्यापक पदका लागि भने एडल्ट हेल्थ वा मेडिकल सर्जिकल नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

आवेदनसँगै उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्र, व्यक्तिगत विवरण (बायोडाटा), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र निवेदन पेस गर्नुपर्नेछ। आवेदन फाराम प्रतिष्ठानको रजिस्ट्रार कार्यालय वा आधिकारिक वेबसाइट www.pahs.edu.np बाट प्राप्त गर्न सकिनेछ।

अन्तर्वार्ताका क्रममा शैक्षिक योग्यतासम्बन्धी सक्कल प्रमाणपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। परीक्षाको मिति र समय भने पछि सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ। इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न प्रतिष्ठानले आग्रह गरेको छ।

patan-academy-of-health-science-job-1795413480.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट