नेभिगेशन

नेसनल मेडिकल कलेजमा आवासीय चिकित्सक र प्रशासनबिच सहमति, आन्दोलन फिर्ता

नेपाल हेल्थ न्युज, काठमाडौं। वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले लामो समयदेखि सञ्चालन गर्दै आएको असहमति तथा आन्दोलनका कार्यक्रम औपचारिक रूपमा फिर्ता लिएका छन्। कलेज प्रशासन र चिकित्सकहरूबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरू आजैदेखि नियमित ड्युटीमा फर्किने भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक र कलेज प्रशासनबीच भएको वार्तापछि सहमति जुटेको हो।

सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव तथा धम्की नदिने र कलेज वा छात्रावासबाट निष्कासन नगर्ने सहमति भएको छ।

त्यस्तै, चिकित्सकहरूको कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गरिने, सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटी नलगाइने तथा ड्युटीपछिको आरामको व्यवस्था प्रचलित निर्णयअनुसार गरिने उल्लेख छ। नियमित परीक्षा तथा शोधपत्र स्वीकृतिका क्रममा अनावश्यक ढिलाइ नगर्ने र चिकित्सकहरूलाई अयोग्य नठहर्‍याउने प्रतिबद्धता पनि जनाइएको छ।

यसैगरी, राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकहरूलाई समेत बिनासर्त पुनः भर्ना गरिने सहमति भएको छ। स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति तथा रोकिएको स्टाइपेन्ड फिर्ताका लागि त्रिवि आइओएम क्याम्पसमा आवश्यक पहल गरिने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार विभागीय प्रमुखको विवरण वा पुष्टिका आधारमा हाजिरी कायम गरिनेछ। २०८३ वैशाख १३ गतेदेखि छुटेका हाजिरी पुनः कायम गर्न आइओएम डिन कार्यालयसँग समन्वय गरिनेछ। साथै, बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र कार्यक्रम संयोजक (प्रोग्राम कोअर्डिनेटर) दुवैको हस्ताक्षर पर्याप्त हुने व्यवस्था गरिएको छ।

सम्झौतामा कलेज प्रशासनले हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवासीय चिकित्सकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको र आजैदेखि नियमित ड्युटीमा फर्किने जानकारी दिएका छन्।

विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा भएको यस सहमतिसँगै नेसनल मेडिकल कलेजमा जारी विवाद तत्कालका लागि समाधान भएको छ।

national-medical-college-inturn-docter-1795675409.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट