नेभिगेशन

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् सेयर?

नेपाल हेल्थ न्युज, काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतबराबर ८ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको छ। उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का बासिन्दाले खरिद गर्न सक्नेछन्।

स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखालस्थित शाखाबाट दिन सकिनेछ। यस समूहका लागि मंसिर २४ गतेसम्म आवेदन खुला रहनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म म्याद थपिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर निष्कासन गरिएको छ। यो सर्वसाधारणलाई छुट्याइएको समूहको १० प्रतिशत हो। यस समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूले मंसिर १५ गतेभित्र मेरो सेयर प्रणालीमार्फत आवेदन बुझाउनुपर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हालेको छ।

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबलाई केयर रेटिङ नेपालले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ४.५० वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि ५.७१ वर्ष रहेको छ। त्यसैगरी, कम्पनीको सञ्चित नाफा २३ करोड १३ लाख रुपैयाँ पुगेको छ।

वित्तीय प्रक्षेपणअनुसार कम्पनीको खुद वर्तमान मूल्य  १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ। आन्तरिक प्रतिफल दर भने २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट