नेभिगेशन

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्‌मा दर्ता गर्ने तयारी

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी अघि बढाएको छ।

स्वास्थ्य बीमा प्रणालीमा देखिएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफललाई निरन्तरता दिएको छ। यसै क्रममा बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको अध्यक्षतामा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिएको हो।

मन्त्री मेहताको नेतृत्वमा यसअघि पनि स्वास्थ्य बीमासँग सम्बन्धित विभिन्न निकाय तथा सरोकारवालासँग पटक–पटक परामर्श गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार आवश्यक अध्ययन, छलफल र तयारी पूरा भएपछि स्वास्थ्य बीमा ऐन संशोधनका लागि तयार पारिएको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको छ। कानुनी प्रक्रिया पूरा भएलगत्तै उक्त विधेयक संघीय संसद्मा दर्ता गर्ने सरकारको तयारी छ।

प्रस्तावित विधेयकले स्वास्थ्य बीमामा नागरिकको सहभागिता बढाउनेदेखि आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउनेसम्मका विषयलाई समेटेको छ। सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगार व्यक्ति र अन्य नागरिकलाई बीमाको दायरामा ल्याउने योजना अघि सारिएको छ। साथै, आर्थिक अवस्था कमजोर भएका तथा बीमामा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

त्यसैगरी स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत प्रदान हुँदै आएका स्वास्थ्य उपचार सुविधाबीच एकरूपता र समन्वय कायम गर्ने प्रस्ताव गरिएको छ। बीमा सेवामा नागरिकको पहुँच सहज बनाउने, सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या तथा दायरा बढाउने र अनावश्यक स्वास्थ्य परीक्षण एवं गलत दाबीलाई निरुत्साहित गर्ने व्यवस्था पनि संशोधनको प्रस्तावमा समावेश छन्।

मन्त्रालयले स्वास्थ्य बीमालाई केवल उपचार खर्च भुक्तानी गर्ने प्रणालीका रूपमा नभई नागरिकको समग्र स्वास्थ्य सुरक्षाको आधारका रूपमा विकास गर्न खोजेको जनाएको छ।

मन्त्री मेहताका अनुसार आर्थिक कठिनाइका कारण कुनै पनि नागरिकले आवश्यक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट