नेभिगेशन

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर प्यान र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागको निर्देशन तथा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३९१ मा गरिएको व्यवस्थाको कार्यान्वयन गर्ने उद्देश्यले काउन्सिलले यस्तो व्यवस्था लागू गरेको हो।

काउन्सिलको २०८३ असोज १ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार प्रमाणपत्रका लागि आवेदन दिने सबै चिकित्सकले प्यान नम्बर र सोको प्रमाणपत्रका साथै पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

त्यस्तै, कार्यरत संस्थाबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि हाल कार्यरत रहेको खुल्ने रोजगारीसम्बन्धी पत्रसमेत आवश्यक पर्नेछ। विदेशमा कार्यरत चिकित्सकले भने सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

काउन्सिलका अनुसार उल्लेखित अवधिमा रोजगारीमा संलग्न नभएका चिकित्सकले सोको स्पष्ट विवरण खुलाएर निवेदन दिनुपर्नेछ। आवेदनमा पेस गरिएका विवरण वा कागजात झुट्टा तथा गलत प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने काउन्सिलले जनाएको छ।

त्यसैगरी, पछि कुनै निकाय वा स्रोतबाट सम्बन्धित अवधिमा रोजगारीमा संलग्न रहेको प्रमाण प्राप्त भएमा भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र जारी गर्न रोक्का गर्नेसम्मको कारबाही हुन सक्ने सूचनामा उल्लेख छ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सम्राट पराजुलीद्वारा जारी सूचनाअनुसार नयाँ व्यवस्था २०८३ मंसिर १५ गतेदेखि लागू हुनेछ। काउन्सिलले सम्पूर्ण चिकित्सकलाई प्रमाणपत्रका लागि आवेदन दिँदा सत्य विवरण र प्रमाणित कागजात मात्र पेस गर्न आग्रह गरेको छ।

medical-council-press-release-1795681322.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट